सम्पादकीय : नेताका बेलगाम बोली !

यतिबेला सामाजिक सञ्जालमा दुई राजनीतिक समर्थकबिच द्वन्द्व चलिरहेको छ । एक पक्ष भर्खरै उदाएका नयाँ शक्तिको पक्षमा र अर्को पुराना दलको पक्षमा छ । विशेषगरी पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि झन् माहोल तातिएको छ । दुवै पक्षका समर्थकहरुले आफू अनुकुलका धारणा सामाजिक सञ्जालमा बेग्रल्ति छरिरहेका छन् । यो केही दिन अझै उत्कर्षमा पुग्ने देखिन्छ । यसमा सरकारमा रहेका दलले सुशासनको चर्को नारा लगाउँदा प्रतिपक्षका दलहरु विशेष गरी रास्वपाले राजनीतिक प्रतिशोधको संज्ञा दिइरहेका छ । सरकारमा रहँदा सुशासन र प्रतिपक्षमा पुग्दा प्रतिशोध देख्ने दलहरुको प्रवृत्ति नौलो भने होइन । सहकारी ठगी प्रकरणमा सभापति लामिछाने पक्राउ परेपछि रास्वपा पूरै शक्ति लगाएर सडकमा उत्रिएको छ । भ्रष्टाचारविरुद्ध सुशासनको नारा लिएको एउटा नबोदित दलले संगठित अपराधको अभियोगमा गर्न लागिएको प्रहरी अनुसन्धानविरुद्ध शक्ति प्रदर्शन गर्ने र त्यसैबाट ‘नीलो क्रान्ति’ को सपना देख्नु अशोभनिय त हो नै, अराजनीतिक पनि हो । यो विषयलाई यतै थाति राखौं ।

विषेश यहाँ चर्चा गर्न खोजिएको महत्वपूर्ण विषय ठुलादेखि साना भनिएका प्रमुख राजनीतिक दलका नेताहरुले कर्णालीमा आएर दिने बेलगाम राजनीतिक भाषणको हो । कार्तिक लागे यता कर्णालीमा संघीय संसदका ठुला–साना दलका पहिलोदेखि दोस्रो बरियताका नेताहरु आएका छन् । जसमा नेपाली कांग्रेसका पार्टी उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार छन् । हप्ता १० दिनभित्र कर्णाली आएका यी नेताहरुले कहाँ के कस्ता अभिव्यक्ति दिए संक्षेपमा बुझ्ने प्रयास गरौं । कर्णालीबाट नेपाली कांग्रेसको दोस्रो बरियतामा पुग्ने पहिलो नेता पनि हुन् उपसभापति खड्का । उनी सुर्खेत क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसदसमेत हुन् । पटक–पटक सरकारको मुख्य जिम्मेवारीमा पुगेका खड्का शक्तिमा रहँदा आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित भइरहे । खड्का अघिल्लो साता सुर्खेत क्षेत्र नम्बर २ को पश्चिम क्षेत्रमा पुगे । चुनावताका हेलिकप्टरबाट पुगेका खड्का यस पटक सडकमार्ग भएर गएका थिए ।

पश्चिम विकासका महत्वपूर्ण पूर्वाधारका बारेमा चुइक्क नबोल्ने खड्का यस क्षेत्रको विकासमा निरन्तर प्रयास गरेको र त्यो जारी रहने झुटो आश्वासनको प्रचार गरेर फर्किए । उनको यो आश्वासन पश्चिमका जनताले पत्याउनेवाला भने कदापी छैनन् । किनकी पश्चिम विकासका आधारहरु ५० को दशकबाटै अलपत्र छन् । अब अर्का प्रभावशाली नेता एमाले उपमहासचिव ज्ञवालीको गरौं । पार्टीकै कामले हुम्ला पुगेका ज्ञवालीले सिस्टम खराबीले हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको भनिदिए । तर, कुन र कताको सिस्टम बिग्रियो र हुम्ला सडक सञ्जालमा जोडिन सकेन भन्ने तथ्यतर्फ नै ज्ञवाली पुगेनन् ।

सत्ताकै वरीपरी रहने एमालेको प्रभावशाली नेताले हुम्ला विकासको मुलधारमा आउन सकेन भन्दै दुखी रहेको आभाष प्रकट गरे । योभन्दा अरु लजास्पद विषय केही हुनसक्ला त ? मासलाई हेरेर उत्तेजक भाषण दिनमा खप्पिस अर्का नेता हुन् माओवादी अध्यक्ष प्रचण्ड । उनी पनि पार्टीले जुम्लामा गरेको कार्यक्रमलाई सम्बोधन गर्न पुगे । २०६४ पछि सरकारकै वरिपरी रहेका पचण्डले पनि जुम्लामा पुगेर कर्णाली समृद्धिको विषयमा धेर थोर बोले । उनले सत्ता बाहिर रहनु परेको रोष बढ्दा पोखे । आफू सरकारमा रहँदा प्राकृतिक र बाहिर रहँदा अप्राकृतिक भ्रष्ट सरकारको संज्ञा दिँदै बेलगाम अभिव्यक्तिमै मास कन्ट्रोल गर्ने प्रयासमा प्रचण्ड थिए । पार्टीकै काममा रहेका रास्वपा सचेतक परियारले रुकुम पश्चिममा पुगेर आफ्ना सभापतिलाई पक्राउ गरिएको सन्दर्भमा सडक तताउँने उद्घोष गरेर फर्किए । यो उनको भड्काउ अभिव्यक्ति थियो ।

कर्णालीलाई नेताहरुले प्रयोगशाला बनाउने यो पहिलो पटक भने होइन । विकासको मूलधारभन्दा निकै तल रहेको कर्णालीले जुन पार्टीका भएपनि केन्द्रीय नेतृत्वबाट खोजेको अपनत्व हो । देशमा विभिन्न राजनीतिक परिवर्तनपछि पटक–पटक सत्ताको बागडोर सम्हालेका नेताहरुले जे मन लाग्यो त्यहीँ बोल्ने तर पुरा नगर्ने प्रवृत्तिले कर्णाली जहाँको त्यहीँ छ । तसर्थ, विभिन्न कालखण्डमा सबै दलहरुका लागि खास बनेको कर्णालीको विकासमा राजनीति नभई साझा धारणा बनाउने विषमा ढिलाई भइरहेको छ । अनावश्यक र भ्रम फैलाउने अभिव्यक्तिप्रति राजनीतिक नेतृत्व बेलैमा सजग बन्नु पर्दछ । पछिल्लो समय नयाँ शक्तिका कारण पुराना दलप्रति छाइरहेको वितृष्णा पनि नेताका यस्ता बकम्फुसे भाषणकै उपज हुनभन्दा फरक पर्छ र ?

तपाईको प्रतिक्रिया