राराबासीलाई ४६ वर्षदेखि खानेपानीकै चिन्ता


तिला गाउँपालिका–१ रारागाउँका बासिन्दालाई ४६ वर्षदेखि खानेपानीको समस्याले छोडेको छैन । गाउँनजिकै पानीको मुहान नहुनु, खानेपानी आयोजनाका लागि आएको बजेट सदुपयोग नहुनु र अहिले आइरहेको पानीको मुहान सुक्दै जाँदा रारागाउँ काकाकुल बनेको छ ।

अहिले गाउँमा खानेपानी भर्नको लागि घण्टौं लाइनमा बस्नुपर्ने, पानी भर्न नपाउँदा विवाद हुने देखि पहुँचका भरमा पानी भर्दा निमुखाहरुले पानी भर्न नपाउने जस्ता समस्या देखिन थालेका छन् । उसो तर एक घरमा एक गाग्री त परै जाओस्, एक ग्यालेनले तीन चार दिनसम्म काम चलाउनुपर्ने बाध्यता समेत छ ।

मुहानमा पानी नै कम आउने भएपछि विहान दुई घण्टा र बेलुकी दुई घण्टा मात्र पानी छोड्ने गरिएको छ । गाउँका २ सय ८० घरधुरीलाई यो पानीले पुग्दैन । ’वर्षौं देखि धित मरुन्जेल पानी भर्न पाइरहेका छैनौं,’ स्थानीय सुरन बस्नेतले भने, ‘अब बृहत् खानेपानीको प्रबन्ध नहुँदासम्म खानेपानी संकट टर्दैन होला । उतिबेला सम्म पानीको समस्या उस्तै हुने गरेको छ ।’

उनका अनुसार छिमेकी गाउँहरुमा खानेपानीको मुहानको खोजी भइरहेको पनि लामो समय भइसक्यो । तर भेटिएको छैन ।

गाउँमा खानेपानी आपुर्तिको लागि आठ वर्ष अघि संघीय खानेपानी कार्यालयबाट पञ्च वर्षिय योजना सुरु भएको थियो । तिला गाउँपालिका–९ ढिपुखोलाको मुहान देखि पानी ल्याउने गरेर काम समेत सुरु भयो । उपभोक्ता समिति र खानेपानी कार्यालयले जिम्मवारीका साथ काम गरेनन् । बजेट आइरहने तर काम नभइरहने भएकोले राराबासीको पानीको सपना पुरा हुन सकेन ।

स्थानीय सरकार सञ्चालन पछि तिला नदिनबाट खानेपानी लिफ्टिङ गरेर गाउँमा लैजाने कार्यको प्रारम्भ भयो । ५० लाख रुपैयाँको योजना सुरु भयो । तर पानी गाउँमा पुगेको छैन। अहिले खोला देखि गाउँ सम्म जडान गरेको फलामे पाइप हेरेर स्थानीयले चित्त बुझाइरहेका छन् ।

४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजनाको पानीले अहिले काम चलिरहेको छ । पानीको मुहान सुक्दा झनै संकट बढेको छ । २०३५ सालमा गाउँमा चारवटा धारा बनेका छन् । ती धाराहरुमा पानी चुहिन्छ मात्रै पानी आइरहेको छैन ।

कहिलेकाहीँ ती धाराहरुमा पानीको थोपा समेत खसेन भने एक घण्टाको पैदल हिँडेर ल्याएको तिला नदीको दुषित पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय करे परियारले दुखेसो पोखे । ’मुल सुकिसके । खानेपानीको माग अनुसार आपुर्ति हुन सकिरहेको छैन,’ करेले भने, ‘दैनिक जसो गाउँमा खानेपानीकै लागि झगडा भइरहन्छ ।’

पानी अभावले गाउँमा करेशावारी छैन । खेतीयोग्य जमिन समेत सुख्खा मरुभुमि जस्तो देखिँदा किसानहरु चिन्तित छन् । ’घरका करेशावारी बाँझै छन् । बाहिरबाट आउने तरकारी उपयोग गर्नुपर्ने विवशता छ,’ उनले भने, ‘जमिन सुख्खा छ । गाउँको छेउमा खोला बगिरहेको छ । हामीलाई दुःख छ ।’

गाउँपालिकाले रारागाउँको खानेपानी समाधानको लागि चार करोड बराबरको आयोजना सुरु गरेको छ । तर पनि स्थानीय विश्वस्त छैनन् । गत आर्थिक वर्षमै ६ करोडको ठेक्का आव्हान गरेकोमा शिव देउती सुलोचना बजु जेभीसंग तीन वर्षमा गाउँमा खानेपानी पु¥याउने गरेर ठेक्का सम्झौता भएको छ । चार करोडमा सो जेभीको ठेक्का परेको छ ।

खानेपानीको सर्भे देखि लाइन दिने कार्य प्रारम्भ भइसकेको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया