विश्व बैंकको सहयोगमा कर्णाली प्रदेशका चार स्थानीय तहको ग्रामिण सडक स्तरन्नति हुने भएको छ । विश्व बैंकको सहयोगमा कर्णाली प्रदेशका चार स्थानीय तहका सडकहरुको आवधिक मर्मत, नियमित मर्मत, स्तरोन्नति र नयाँ बन्ने भएका हुन् ।
विश्व बैंकको सहयोगमा कर्णालीका दैलेको डुङ्गेश्वर गाउँपालिका, हुम्लाको अदानचुली गाउँपालिका, डोल्पाको छार्का ताङसोङ गाउँपालिका र कालीकोटको महावै गाउँपालिकाको मुकाम जोड्ने सडकको कालोपत्रे, आवधिक मर्मत, नियमित मर्मत र स्तरन्नतिको गर्ने योजना अगाडी बढेको छ ।
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) कार्यक्रममा लागि गत बिहिबार काठमाडौंमा स्थानीय कार्यक्रम सञ्चालन गर्न सहरी विकासमन्त्री प्रकाशमान सिंह र कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्रीको उपस्थितिमा स्थानीय तहका प्रतिनीधिहरुका बीचमा समझदारीपत्रमा हस्ताक्षर गरिएको कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले बताए ।
‘कार्यक्रम सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ,’ उनले भने,‘यो कार्यक्रम अहिले पाइलट प्रोजेक्टका रुपमा कर्णालीका चार स्थानीय तहहरु छनौट भएका छन् ।’ कर्णालीका जिल्लाका चार स्थानीय तहमा अहिले यो कार्यक्रममा पाईलट प्रोजेक्टका रुपमा रहेको र बाँकी जिल्लामा आगामी बर्षमा संघीय सहरी विकास मन्त्रालयले थप गर्दै लैजाने योजना रहेको कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बुढाले जानकारी दिए ।
‘संघीय सरकार तथा विश्व बैंकको सहयोगमा अहिले तीन प्रदेशमा यो कार्यक्रम लागू भएको छ,’ उनले भने,‘त्यसैमा कर्णालीका चार जिल्लाका चार स्थानीय तह छनौट भएका छन् । अन्य स्थानीय तहमा थप हुँदै जानेछन् ।’ कर्णाली प्रदेशका कार्यक्रम लागु भएका स्थानीय तहहरुमध्ये दैलेख डुङ्गेश्वर गाउँपालिमा ठेक्काको अन्तिम चरणमा रहेको, कालिकोटका महावै गाउँपालिका, हुम्लाको अदानचुली गाउँपालिका डिपिआर तयार भएकोले त्यहाँ पनि छिट्टै सडक निर्माणका लागि एक महिना जति समय लाग्ने र डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा यसै आर्थिक वर्षमा कार्यक्रम सञ्चालन हुने कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बुढाले बताए ।
कर्णाली प्रदेशका पूर्वाधार मन्त्री बुढाले प्रदेशका धेरै स्थानीय तहमा सडक नपुगेको यो कार्यक्रम कर्णालीका सबै स्थानीय तहमा लागू गर्नका आफुले संघीय ससरकार समक्ष प्रस्ताव गरेको बताए । ‘कर्णालीका सबै स्थानीय तहसम्म सडकको पहुँच पुगेको छैन्,’ उनले भने, ‘त्यसका लागि मैले पहिलो चरणमा कर्णालीका चार जिल्लाका चार स्थानीय तहमा कार्यक्रम लागू भएपनि आगामी बर्षका थप स्थानीय तहका यो कार्यक्रम लागु गर्नका लागि प्रस्ताव गरेको छु ।’
चालू आर्थिक वर्षमा चार स्थानीय तहका मुकाम सडक जोडिने
कर्णालीका प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) कार्यक्रममा लागु हुन लागेका चार स्थानीय तहका मुकामसम्म सडक जोड्ने यो कार्यक्रमको लक्ष्य रहेको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा डुङ्गेश्वर बजारदेखि गाउँपालिकाको मूकामसम्म आठ किलोमिटर सडक र करिब १२ सय मिटर ब्रिज सडक गरेर झण्डै १० किलोमिटर सडकको सडकको मर्मत, कालोपत्रे, स्तरन्नतिको काम हुने त्यसका लागि स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) कार्यक्रमले ठेक्कालगाएतका अन्य काम गर्ने र स्थानीय तहले जग्गाको व्यवस्थापन गर्नुपर्ने सम्झौता भएको डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर केसीले बताए ।
‘अबको केही दिनमा ठेक्का प्रक्रियाको काम अगाडी बढ्छ । त्यसका लागि सबै प्रक्रिया पुरा भएको छ,’ उनले भने,‘चालू आर्थिक वर्षमा ३६ करोड बढीको ठेक्का प्रक्रियामा जान्छ । यो आयोजना बहुवर्षिया भएका कारणले कति लागत लाग्छ अहिले नै भन्न सकिदैन् ।’
कालीकोटको महावै गाउँपालिकामा कालिकोट–जुम्ला सडकखण्डको खाँडाचक्र नगरपालिकाको सेरावाडादेखि महावै गाउँपालिकाको मुकाम पादमघाटसम्म जोड्ने नौ किलोमिटर सडक निर्माणका लागि सम्झौता भएको र त्यसको डिपिआर लगाएतका अन्य काम सम्पन्न भएको स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) कार्यक्रमबाट अनुगमन भएपछि सडक निर्माणको ठेक्का प्रक्रिया अगाडी जाने महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए ।
‘मैले अस्ति मात्र सडक निर्माण तथा स्तरन्नतिको लागि समझदारीपत्रमा हस्ताक्षर आएको छु,’ उनले भने,‘यो कार्यक्रम चाडै नै लागु हुनेछ । यो बहुवर्षिया योजना भएकोले कति लगानी लाग्छ अहिले भन्न सकिन्न ।’ त्यस्तै, स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) कार्यक्रम अन्र्तगत हुम्लाको अदानुचुली गाउँपालिकामा लागू हुँदैछ ।
त्यसका लागि कर्णाली राजमार्गको गल्फागाडदेखि गाउँपालिकाको मुकाम श्रीनगरसम्म नौ किलोमिटर र थप ९९० मिटर गरेर झण्डै १० किलोमिटर सडकको मर्मत तथा स्तरन्नति हुने गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताए । ‘चालू आर्थिक वर्षमा ५० लाखदेखि ६० लाखसम्म बजेट आउने अनुमान गरेका छौं,’ उनले भने, ‘आयोजनाले फिल्ड भिजिट गरेर मात्रै काम शुरु हुनेछ ।’
डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको मुकाम कागकोटसम्म जोड्नका लागि करिब १२ किलोमिटर सडक निर्माण हुने त्यसका लागि आवश्यक प्रक्रिया भइरहेको गाउँपालिकाले जनाएको छ । यसका लागि स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) कार्यक्रमले डिपिआर लगाएतका काम गर्ने र चालू आर्थिक वर्षमा कार्यक्रम लागु गर्ने योजना रहेको छ ।
छार्का ताङसोङ गाउँपालिकाका राष्ट्रिय सडक सञ्जाल र केन्द्रीय विद्युत प्रशारण लाईनबाट जोडिन नसके र आर्थिक, सामाजिक, पुरातात्विक, धार्मिक एवं ऐतिहासिक महत्व बोकेको प्रमुख दर्शनीयस्थलहरुमा विश्व कै उचाईमा रहेको मानव बस्ती छार्का पर्दछ । त्यसैले कारणले पनि यो ठाउँमा सडक जोड्नका लागि सरकारले प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष कार्मादुण्डुप गुरुङले बताए ।
यस्तो कार्यक्रमको योजना
विश्व बैंकको सहयोगमा प्रदेश र स्थानीय तहमा पाँचवर्षे सडक सुधार कार्यक्रम सञ्चालन गर्नेछ । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) अन्तर्गत विश्व बैंकको र नेपाल सरकारको १६ अर्ब ६४ करोडको लागतमा कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशमा उक्त कार्यक्रम लागू हुनेछ ।
सडक सुधारका लागि विश्व बैंकले १० करोड र सरकारले २ करोड ८० लाख अमेरिकी डलर खर्च गर्नेछन् । बैंकले सफ्ट लोनअन्तर्गत सहयोग गरेको हो । आवधिक मर्मत, नियमित मर्मत, स्तरोन्नति र नयाँ बनाउनेसमेत करिब ३१ सय किमि सडक क्षेत्रमा उक्त रकम खर्च गरिनेछ ।
सहरी विकास मन्त्रालयका अनुसार तीनै प्रदेशको सय किमि सडक नयाँ निर्माण गरे स्थानीय तहको वडा कार्यालय जोडिनेछ र त्यस्तो सडक बाह्रै महिना सञ्चालन हुने गरी निर्माण गरिने पीएलआरआईपीका कार्यक्रम प्रमुख तथा शहरी विकास मन्त्रालयका सहसचिव माधवप्रसाद भट्टराईले बताए । ‘प्रादेशिक सडक दुई सय किमिको स्तरोन्नति र तीन सय किमिको आवधिक मर्मत गरिनेछ,’ उनले भने ।
रमेश रावल । सुर्खेत । ९ मंसिर २०८१, आईतवार १२:२२