प्रदेश सरकार कागज भन्दा व्यवहार मिलाउने किसानको पक्षमा छ : मुख्यमन्त्री यामलाल


कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जुम्लाको स्याउ उत्पादनदेखि बजारीकरणसम्म सरकारको विशेष प्राथमिकतामा रहने बताएका छन् । जुम्ली स्याउको पहिचान र महत्व छुट्टै रहेको उल्लेख गर्दै उनले किसानलाई प्रोत्साहनदेखि सहुलियत कर्जा र उत्पादित बस्तुको बजारीकरणमा सहयोग गर्न सरकार गम्भीर भएर लागिपरेको स्पष्ट पारे । जुम्लाको सदरमुकाम खलंगामा कृषि विकास कार्यालय जुम्लाले आयोजना गरेको जुम्लाका कृषक संग मुख्यमन्त्री अन्तरक्रिया तथा छलफल कार्यक्रममा यस्तो आश्वासन दिएका हुन् ।

जुम्लाका दर्जनौं किसानले राखेका जिज्ञासालाई सम्बोधन गर्दै मुखमन्त्री कँडेलले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, “कर्णाली प्रदेशको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान छ । किसानले उठान गरेका समस्याहरू सम्बोधनका लागि सकारात्मक भएको छ । चालु आर्थिक वर्षको बजेट आइसकेर कार्यन्वयनमा गइसकेको छ ।” आगामी बजेटमा समावेश गर्ने प्रयास गर्ने आश्वासन दिए ।

कृषि उत्पादन वृद्धिविना प्रदेशको आर्थिक समृद्धि सम्भव नभएको उल्लेख गर्दै उनले भने, “कर्णालीसँग समग्र मुलुकलाई नै पाल्नसक्ने सामार्थ्य छ ।” उनले वास्तविक किसान पहिचान गरि कमिसन तन्त्रको विरुद्ध सरकार उभिनेछ । कागज मिलाउने किसान भन्दा व्यवहार मिलाउने किसानको पक्षमा प्रदेश लाग्नेछ । “जुम्लाको स्याउले नै जुम्लाको अर्थतन्त्रमा सुधार ल्याउँछ । स्याउ जुम्लाको आर्थिक विकासका एक आयाम हो, मुख्यमन्त्रीले भने, ” अहिले किसान राय र सुझाव सुन मात्रै जुम्ला पुगेको स्पष्ट पारे ।

आउदो निति कार्यक्रममा यथार्थमा आधारित मागहरू समेटिने दाबी गरे । उनले कर्णाली कृषि, पर्यटन, जडीबुटीका हिसाबले प्रचुर सम्भावनायुक्त प्रदेश भए पनि ठोस नीति र पर्याप्त बजेट अभावले कर्णालीको अर्थतन्त्र सुधार नभएको स्विकारे । जुम्लाको हिमा गाउँपालिका –३ मोफ्ला गाउँका स्याउ किसान गोपाल रोकायाले माटो परीक्षण ल्याव स्थापना, सैद्धान्तिक ज्ञान मात्र आर्जन गरेका कृषि प्राविधिकलाई व्यवहारिक ज्ञान सीप दिनुपर्ने र लामो समयसम्म स्याउ राख्नको लागि शीत भण्डारको व्यवस्था गर्न अपिल गरे ।

जुम्ली स्याउलाई नेपालगंज हुँदै रुपैडिया नाका भएर लखनउतिर लिएर बेच्ने व्यवस्था मिलाउन आग्रह गरे । उनले भने, ‘स्याउ काठमाडौं भन्दा लखनउ पु¥याउन निकै सजिलो छ । पातारासी गाउँपालिका किसान लछिमन बोहोराले हरेक वर्ष स्याउमा रोग किराको संक्रमण बढेको सुनाए । समयमै वर्षा नहुँदा उत्पादनमा वर्षेनि गिरावट आउँछ । स्याउको ग्रेडिङ मेसिन, प्याकेजिङ र प्रशोधनका लागि उद्योग नै स्थापना गर्नुपर्नेमा जोड दिए ।

चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँका नारायण चौलागाइँले वर्षेनि किसानले उत्पादन गरेको स्याउ बाहिर निर्यात गर्ने बेला समस्यामा हुने गरेको बताए । उनले प्रदेश सरकारले स्याउको बजार सुनिश्चित गरिदिनुपर्ने माग गरे । उनले स्याउमा सरकारले दिने अनुदान रोक्नुपर्ने सुझाव दिए ।
सरकारले दिने अनुदान पहुँचविहीन किसानले पाएका छैनन्, ‘पहुँच हुने किसानहरूले मात्र यो अनुदानको आवश्यक छैन ।’ चन्दननाथ नगरपालिका–२ भण्डारीबाडा गाउँका किसान रत्नबहादुर भण्डारीले कर्णाली राजमार्गको स्तरवृद्धि नहुँदा सहजै रुपमा जुम्ली स्याउ बजारमा लैजान नसकेको बताए ।

उनले अहिले ५० हेक्टर क्षेत्रफल किसानलाई मात्र अनुदानको व्यवस्था भएको प्रति आक्रोश पोख्दै ५० बर्गमिटरमा स्याउ रोपेका किसानले पनि सरकारी सेवा उपभोग गर्न पाउनुपर्ने तर्क गरे।यता कृषि कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार जुम्लामा ४ हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा जुम्ली स्याउको खेती हुने गरेको छ । चालु आर्थिक वर्षमा मात्रै ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ स्याउ बेचेर जिल्ला भित्रिएको थियोे ।

तपाईको प्रतिक्रिया