जाजरकोट नलगाडमा जिप दुर्घटना हुँदा पाँचको मृत्यु, दुई घाइते


जाजरकोटमा गएराति जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन् ।

बुधबार राति ९ः३० बजे नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ कैन करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक सडकबाट करिब ८ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनास्थलमा पुगेको टोलीले पौने ३ बजे दल्लीस्थित नगर अस्पतालमा दुर्घटनाका घाइतेहरूलाई ल्याएको थियो । अस्पतालले पाँचै जनालाई मृत घोषणा गरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

दुर्घटनामा नलगाड नगरपालिका–३ का १९ वर्षीय जनक थापा र २१ वर्षका जीवन विक गम्भीर घाइते भएका छन् । घाइतेमध्ये जनक थापाको उपचार भइरहेको छ भने जीवन विकलाई सामान्य उपचारपछि घर फर्काइएको डिएसपी पाण्डेले बताए ।

प्रहरीका अनुसार जिप ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ भने जिपमा सात जना सवार थिए ।

तपाईको प्रतिक्रिया