प्रविधिमैत्री बनाउन शिक्षकलाई स्टीम तालिम


किताबी ज्ञानका साथै प्राविधिक सीपले पनि शिक्षकलाई योग्य बनाउन पहिलोपटक स्थानीय सरकारले नयाँ नीति सारेको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले पहिलोपटक गाउँपालिका क्षेत्रका शिक्षकलाई प्रविधिमैत्री बनाउन नयाँ प्रविधि( स्टीम) तालिम प्रदान सुरु गरेको हो ।

गाउँपालिका भित्र सामुदायिक विद्यालयमा कार्यरत गणित तथा विज्ञान विषयका शिक्षक तथा शिक्षिकाहरु लाई पाँच दिने तालिम उपलब्ध गराइएको हो । आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लाको आयोजना,प्यलान नेपालको आर्थिक सहयोग र गाउँपालिकाको समन्वय तालिम गरिएको आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लाका फिल्ड सुपरभाइजर सेरबहादुर रोकायाले बताए ।

गाउँपालिकाले यसरी शिक्षकको आवश्यकता पहिचान गरी कितावी ज्ञानबाट बाहिर ल्याउँदै प्रविधिमैत्री बनाउन तालिम प्रदान गर्नु स्थानीय सरकारको शिक्षा क्षेत्रमा पहिलो सकरात्मक कदम बढेको शिक्षिका शान्ति बुढाले सुनाइन् ।

‘किताबमा मात्र सैद्धान्तिक ज्ञान सिकाउँदा हामी नै अलमल हुन्छौं । प्रयोगात्मक रुपमा कसरी नयाँ प्रविधि सम्बन्धिको सिकाउने ज्ञान नहुँदा विद्यार्थी सिकाउनै मुस्किल हुने गरेको थियो,’ उनले भनिन्, ‘नयाँ प्रविधिको ज्ञान नहुँदा कक्षामा पठनपाठन गर्न समस्या खेप्दै आएका छौँ । गाउँपालिकाले त्यसको समाधान पहिल्याइ दिएको छ ।’

गाउँपालिकाका निम्नमाध्यमिक र माध्यमिक विद्यालयमा कार्यरत १२ वटा विद्यालयका १९ जना गणित र विज्ञान शिक्षक शिक्षिकालाई गाउँपालिकाले प्रविधिमैत्री बनाउन नयाँ प्रविधि( स्टीम) तालिम दिएको हो । आधुनिक सूचना प्रविधिको युगमा शिक्षकलाई कितावी ज्ञानमात्र नभई नयाँ प्रविधिका क्षेत्रमा पनि पोख्त बनाउनुपर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवनबहादुर रोकायाले बताए । उनी भन्छन्, ‘किताबी सुगा रटाईले मात्र शिक्षाको गुणस्तर माथि उक्सिदैन । कम्प्युटरको युगमा प्रयोगात्मक प्रविधिको ज्ञानसीप अभाव शिक्षा लंगडो बन्छ। यसैले केही प्रविधिका ज्ञानसिपका लागि शिक्षकलाई तालिम प्रदान गरेका हौँ ।’ गणित र विज्ञान शिक्षकहरूको शिक्षण क्षमतामा सुधार गर्ने, शिक्षकहरूलाई नवीनतम शिक्षण विधिहरू र प्रविधिहरूको प्रयोगमा दक्ष बनाउने र स्थानीय विद्यालयहरूमा शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकहरूको भूमिका सुदृढ गर्ने उदेश्य छ ।

शिक्षकमा विषयवस्तु र शिक्षण कलाले मात्र नभएर प्राविधिक ज्ञान पनि अत्यावश्यक रहने गाउँपालिका प्रमुख दामोदरप्रसाद आचार्यले बताए । उनले यसरी प्रविधिमैत्री भएपछि शिक्षण सिकाइ क्रियाकलापलाई सूचना र प्रविधिसँग जोड्न सहयोग पुग्ने बताए । ‘अबको युगमा प्रविधिको ज्ञान हुनु अतिआवश्यक छ । गाउँपालिकाको शैक्षिक सुधारका लागि पनि यो तालिम आयोजना गरिएको हो,’ उनले भने । यता प्रशिक्षक हेम नारायण महत्त्वका अनुसार गणित र विज्ञान शिक्षणमा नवीनतम विधिहरूको प्रयोगबारे प्रशिक्षण,शिक्षकहरूलाई प्रयोगात्मक शिक्षण विधिहरूमा सहभागी गराउने र शिक्षकहरूबीच अनुभव आदानप्रदान र समस्याहरूको समाधान खोज्ने प्रशिक्षण सत्रहरू चलाइएको थियोे ।

सहभागी शिक्षकहरूले नवीनतम शिक्षण विधिहरू र प्रविधिहरूमा दक्षता हासिल गरेको बताएका छन् । गणित र विज्ञान शिक्षणको गुणस्तरमा सुधारल्याउने शिक्षक तिर्थराज शर्माले बताए ।

उनले भने,तालिमले स्थानीय समुदायमा शिक्षाको महत्त्वबारे जागरूकता बढायो । आउदो शैक्षिकसत्र देखि तालिममा सिकेको सीप लाई कार्यनयन गर्ने उनिहरुले प्रतिवद्वता जनाए । पाँच दिने तालिमले शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीय विद्यालयहरूमा शिक्षाको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउनेछ । प्राप्त ज्ञान र सीपलाई विद्यालयमा लागू गर्दै समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया