घोराही–तुलसीपुर सडक खण्डअन्तर्गतका पुल निर्माणमा बजेट अभाव देखिएको छ । २०८० फागुनबाट बनाउन सुरु गरिएको केही पुलहरू बजेट अभावले अलपत्र परेका हुन् ।
सेवारखोला, कालाखोला, ग्वारखोला र हापुर खोलामा पुल निर्माणमा बजेट अभाव देखिएको छ । ठेक्का पाएका निर्माण कम्पनीले डिजाइन पास गरी सर्वे गर्दा पनि बजेट नआएपछि कामअघि बढेको छैन ।
‘फेद न टुप्पा’को काम हुने गरी बजेट छुट्याईदा ती पुल बन्न सुरु नहुँदै अलपत्र अवस्थामा परेका हुन् । कालाखोलामा ९० मिटर लम्बाइ भएको चार लेनको, ग्वारखोलामा दुई सय २० मिटर लम्बाइ भएको दुई लेनको, हापुर खोलामा एक सय ५० मिटर लम्बाइ भएको चार लेनको ठेक्का सम्झौता भएर डिजाइन पनि सम्पन्न भई सर्वे भइसकेको छ ।
निर्माणाधीन रहेको सेवारखोलामा ७० मिटर लम्बाइ भएको चार लेनको पुलको गत वर्षकै भुक्तानी बाँकी छ । ठेकेदारले भुक्तानी नपाउँदा पुल अलपत्र बन्ने अवस्थामा पुगेको हो । सडक विभागअन्तर्गतको पुल सेक्टर कार्यालय नेपालगन्जबाट काम हुने उक्त आयोजनामा सुरुका वर्ष सडक विभागले नै अख्तियारी राख्ने प्रावधानअनुसार उतैबाट काम भएको थियो । त्यस वर्ष सडक विभागअन्तर्गतको पुल सेक्टर कार्यालय नेपालगन्जबाट बजेटलगायतको काम हुनेमा कार्यालय मै बजेट अभाव भएको बताइएको छ ।
अघिल्लो वर्षको दायित्व ५४ करोडमा २० करोड दिएर ३४ करोड पुरानै भुक्तानी बाँकी रहेको कार्यालयले बताएको छ । पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर रामकिसुन थारुले एक अर्ब ७८ करोड रुपैयाँ आवश्यक बजेटमा कार्यालयमा जम्मा करिब ३५÷४० करोड मात्रै बजेट रहेकोले पनि ठेक्काको काममा समस्या भएको बताए ।
घोराही उपमहानगरपालिका–१६ स्थित सेवारखोलामा २०८३ साल जेठ ३० गते भित्र सक्ने गरी २०८० जेठ ३० मा सम्झौता भएको पुल निर्माण कार्य सुरु भएको ६ महिना नपुग्दै बजेटका कारण अलपत्र बनेको हो । २३ करोड २२ लाख रुपैयाँ लागतमा तीन वर्षभित्र पुल निर्माण गर्नेगरी रायमाझी निर्माण सेवा प्रालि काठमाडौंले सुरु गरेको कामबीचमै बन्द भएको छ । बजेट अभाव र भुक्तानी समस्याका कारण पुल निर्माणको काम हुन नसकेको रायमाझी निर्माण सेवा प्रालि काठमाडौंका प्रोप्राइटर भरतजंग रायमाझीले बताए ।
गत वर्षकै काम गरेको तीन करोड नपाए पनि थप एक करोड ऋण ल्याएरबीचको पिलर बनाउने तयारी गरिएको उनको भनाइ छ । ‘अरु नछुने गरी बीचको पिलर उठाउनेतर्फ काम भइरहेको छ । बीचको पिलर उठाउँदा मात्रै ६०÷७० लाख खर्च हुन्छ । अहिलेसम्म चार करोड खर्च भइसक्यो’उनले भने,‘पोहोर कै तीन करोड बिलको भुक्तानी पाएको छैन । मोभिलाइजेशन वापतको पाउनुपर्ने १० प्रतिशतमा पाँच प्रतिशत पनि पाएको छैन ।’
ऋणमै पनि चल्न नसक्ने अवस्था भएकोले राज्य भुक्तानीमा गम्भीर हुनुपर्ने उनी बताउँछन् । ‘बैंकले पत्याउँदासम्म काम गरिरहेको छु । ऋण मै कहिलेसम्म काम गर्न सकिएला र ? काम गरेको पैसा नै पाइएको छैन । मोभिलाइजेशनको पैसा पनि पाइएन,’ उनले भने,‘पुरानै भुक्तानीको लागि पटक–पटक मन्त्रालय धाइरहेको छु । मन्त्रीलाई कर्मचारीले नटेर्ने, फाइल यता उता घुमाउने काम मात्रै गरेका छन् । अर्थमा गएको फाइल फेरि फर्केको सुन्नमा आएको उनले बताए । जसो तसो बीचको ढलानपछि बजेट नपाउँदासम्म काम गर्ने नसक्ने उनको भनाइ छ ।
सेवारखोलामा बन्ने ७० मिटर लम्बाइ भएको चार लेनको पुलका लागि २३ करोड २२ लाख रुपैयाँमा २०८० जेठ ३० गते ठेक्का सम्झौता भएको थियो । ३६ महिना भित्र सक्ने गरी खरिद सम्झौता भएको ठेक्का २०७९÷८०–०५ को निर्माणाधीन सेवार खोला पुलमा बजेट अभाव छ ।
डिजाइन र सर्वेका सबै काम निर्माण कम्पनीको तर्फबाट भएर विभागले स्वीकृत गरेपछि उसैको डिजाइन र गरेको सर्वेको आधारमा ठेक्का सम्झौता हुने गरी डिजाइन एण्ड विल्ड विधिबाट ठेक्का भएको अरु तीन पुलको अवस्था पनि उस्तै छ ।
शर्मा–सगुन जेभी बुटवलले ठेक्का पाएको कालाखोलामा ९० मिटर लम्बाइ भएको चार लेनको, ग्वार खोलामा दुई सय २० मिटर लम्बाइ भएको दुई लेनको, हापुर खोलामा एक सय ५० मिटर लम्बाइ भएको चार लेनको पुलको काम सुरु हुने बेला भएको छ । तर ती पुलमा पनि बजेट अभाव छ । शर्मा–सगुन जेभी बुटवलका आधिकारिक प्रतिनिधि सुमन मिश्रले तीन वटै पुलमा बजेट अभाव भएको बताए । ‘तीन पुललाई एक–एक करोड गरेर बजेट छुट्याइएको छ ।
हामीले एउटा फाउण्डेसन मात्रै गरे पनि तीन करोड बढीको बिल बन्छ’ उनले भने,‘कार्यालयबाट काम गर्दै गर्नोस् बजेट व्यवस्था मिलाउँछौं भन्ने आश्वासन आएको छ । ग्वारखोलाबाट काम सुरु हुन्छ ।’ उनले नयाँ ठेक्कामा बजेट नहुनु र पुरानै विलको भुक्तानी नपाउँदा समस्या परेको जिरिक गरे । ‘ग्वारखोलाकै तल्लोतिर बनेको पुलकै पुरानो भुक्तानी बाँकी छ । असारमा बिल बुझाएको दुई करोडभन्दा बढीको भुक्तानी अझै भएको छैन ।
३८ महिनाभित्र सक्ने गरी खरिद सम्झौता भएको ठेक्का नम्बर २०७८÷७९–०४ को कालाखोलामा बन्ने ९० मिटर लम्बाइ भएको चार लेनको पुलका लागि १७ करोड ८२ लाख रुपैयाँमा २०७९ असार २९ गते ठेक्का सम्झौता भएको थियो । ३८ महिना भित्रै सक्ने गरी सम्झौता भएको ठेक्का नम्बर २०७८÷०७९–०५ को ग्वारखोलामा दुई सय २० मिटर लम्बाइ भएको दुई लेनको पुलका लागि २२ करोड पाँच लाखमा २०७९ असार २९ गते ठेक्का सम्झौता भएको थियो । ४२ महिना भित्र सक्ने गरी खरिद सम्झौता भएको ठेक्का नम्बर २०७८÷७९–०६ को हापुर खोलामा बन्ने एक सय ५० मिटर लम्बाइ भएको चार लेन पुलका लागि २७ करोड ८४ लाख रुपैयाँमा २०७९ असार २९ गते ठेक्का सम्झौता भएको थियो ।
यता पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेले बजेट अभावका कारण ठेक्का समस्यामा परेको बताएको छ । पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर थारुले काम गर्ने निर्माण कम्पनीले पनि बजेट नपाउँदा साइट अलपत्र बन्न थालेको बताए । ‘सर्वे गरियो, ले–आउट गरियो, अब काम सुरु गर्छु भन्ने कुरा निर्माण कम्पनीको तर्फबाट आएको छ । तर पैसा खासै छैन । तीन वटै पुलमा एक एक करोड रुपैयाँ मात्रै छ ।’
थारुका अनुसार गवारखोलाको दुई करोड ११ लाख पुरानै भुक्तानी भएको छैन । उनले स्थानीय सडक र रणनीतिक सडकसँग सम्बन्धित ठेक्कामध्ये रणनीतिक सडकमा राज्यले बढी ध्यान दिनुपर्ने बताए । ‘भित्री बाटोमा गाडीको त्यति चाप हुन्न । तर हजारौं गाडी दैनिक गुड्ने सडकमा बजेटको व्यवस्था हुनुपर्ने हो । लेखेर पनि धेरै पटक पठाइरहेको छु, तर बजेटको व्यवस्था भएको छैन’ उनले भने ।
युग संवाददाता । दाङ । ८ पुष २०८१, सोमबार १३:४३