मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा .नन्दबहादुर सिंहले आदिवासी ज्ञान, सिप, र प्रविधिको महत्वबारे बताएका छन् । उनका अनुसार, त्रिभुवन विश्वविद्यालयमा करिब ३० वर्षमा ६० भन्दा बढी जनजातिका आदिवासी ज्ञान र जातीय जीवशास्त्रसम्बन्धी थेसिसहरू अनुसन्धान गरिएको बताए । उनले नेपालका आदिवासी जनजातिहरू र विभिन्न जातजातिहरुसँग गहन ज्ञान, सिप, र प्रविधि रहेको उल्लेख गर्दै त्यसको अध्ययन र संरक्षण गर्नुपर्नेमा जोड दिए ।
उनले कर्णाली प्रदेशका १० जिल्लामा विभिन्न जातीय समुदायसँग जोडिएको परम्परागत ज्ञान, सिप, र प्रविधि पत्ता लगाएको उल्लेख गरे । “कर्णालीका समुदायहरूले स्थानीय वस्त्र निर्माण, हस्तकला, र अन्य परम्परागत सीपको प्रयोग गरेर आत्मनिर्भरता देखाएका छन्,” उनले भने ।
आधुनिक पाठ्यक्रममा समावेशको माग
सिंहले विद्यालय र कलेजहरूमा आदिवासी ज्ञान र सिपलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, “परम्परागत ज्ञान र सिपको अध्ययनले मात्र विद्यार्थीलाई उद्यमशील बनाउन र आत्मनिर्भर जीवनयापन गर्न सक्षम बनाउँछ ।”
उनका अनुसार, मध्यपश्चिम विश्वविद्यालयले ३० करोडको बजेटमा नयाँ परियोजना सुरु गरेको छ । यस अन्तर्गत, चार वर्षे स्नातक तहमा विशेषगरी दलित र आदिवासी समुदायको ज्ञान र सिपलाई प्राथमिकताका साथ अध्ययन गराइनेछ । “यो योजना कर्णालीबाट सुरु गरिएको छ ।”
कर्णालीको महत्व र भविष्यको योजना
कर्णाली प्रदेशको जनसङ्ख्या १६ लाख ९४ हजार ८८९ रहेको छ । जसमा महिला ८ लाख ६६ हजार ५८२ र पुरुष ८ लाख २८ हजार ३०७ रहेका छन् । कर्णालीमा दलित जनसङ्ख्या ४९१,५१८ (२९%) रहेको छ । सिंहले दलित र अन्य जातजातिको ज्ञान डकुमेन्टेसन गरी पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, “यी समुदायसँग रहेको ज्ञान र सिपलाई संरक्षण गर्दै व्यावसायिकरण गर्न सके देशको समग्र विकासमा टेवा पुग्नेछ ।”
मध्यपश्चिम विश्वविद्यालयले -KIIKST संस्थामार्फत आदिवासी ज्ञान र सिपको अध्ययन र प्रर्वद्धनको पहल थालेको छ । सिंहले नेपाल सरकारलाई स्कुल र कलेजको पाठ्यक्रममा परम्परागत ज्ञान र सिपलाई समावेश गर्न आग्रह गरे । “यस्तो पहलले जनताका छोराछोरीलाई उच्चस्तरीय ज्ञान र सीप प्राप्त गर्न सघाउनेछ, जसले उनीहरूको आर्थिक आत्मनिर्भरता सुनिश्चित हुनेछ,” उनले भने ।
मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको कार्यकालमा, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य बसन्तकुमार विश्वकर्माको निरन्तर समन्वय र विशेष पहलमा Karnali Institute या Indigenous Knowledge, Skill, and Technology (KIIKST) को स्थापना गरिएको छ । यो संस्थाले उत्पीडित दलित समुदायको परम्परागत ज्ञान, सीप, र प्रविधिको संरक्षण गर्दै उनीहरूको जीवनस्तर सुधार गर्ने उद्देश्य लिएको छ ।
दलित समुदायको सम्मानको लागि महत्वपूर्ण कदम
कार्यक्रममा बोल्दै बसन्तकुमार विश्वकर्माले दलित समुदायको ज्ञान र सीपलाई राज्यले युगौंसम्म उपेक्षित गरे पनि समाज निर्माणमा उनीहरूको योगदान अमूल्य रहेको उल्लेख गरे। उनले भने, “दलित समुदायको मेहनत र सीपको उपयोग त समाजले गर्दै आएको छ, तर उनीहरूलाई तिरस्कार र अछूतको व्यवहार गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।”
(KIIKST) को स्थापना यसै लक्ष्यलाई ध्यानमा राख्दै गरिएको हो, जसले परम्परागत ज्ञान र सीपलाई संरक्षित मात्र होइन, आधुनिक शिक्षा र प्रविधिसँग जोडेर दलित समुदायको आत्मसम्मान र आर्थिक उन्नयनमा योगदान दिनेछ ।
यो पहललाई कोसेढुङ्गा मान्दै उनले संस्थाको अध्यापन कार्यक्रम तत्काल सुरू गर्न आग्रह गरेका छन् । (KIIKST)ले शिक्षा, सीप, र प्रविधिको माध्यमबाट समुदायलाई सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ ।
सदियौँदेखि कुरीति, कुसंस्कार, जातीय विभेद, र छुवाछुतजस्ता सामाजिक अन्यायका कारण दलित समुदाय सामाजिक, आर्थिक, राजनीतिक, र शैक्षिक क्षेत्रहरूमा अपहेलन र दमनको शिकार हुँदै आएको छ ।
दलित विद्यार्थीहरूको शैक्षिक अवस्था सुधारका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल समाजवादउन्मुख हुँदै गरेको वर्तमान परिस्थितिमा दलित समुदायको मनोबल उच्च बनाउन र शिक्षाको मूलधारमा उनीहरूलाई समाहित गर्न प्रभावकारी कार्यक्रमको भूमिका महत्त्वपूर्ण छ । शिक्षामा पहुँच र गुणस्तर सुनिश्चित गर्नु दलित समुदायको समग्र विकासका लागि अपरिहार्य छ ।
यद्यपि, २१औँ शताब्दीमा समेत दलितहरूलाई छुन नहुने चिजजस्तो व्यवहार गरिनु, मानव भएर जन्मेपछि पनि सम्मानपूर्वक जीवनयापन गर्न नपाउनु, र एक मानवले अर्को मानवलाई समान रूपमा स्वीकार नगर्नुजस्ता विभेदहरू अझै कायम छन् । यस्तो अवस्थाले सामाजिक अन्यायलाई अझ गहिरो बनाइरहेको छ । त्यसैले, जातीय विभेद र छुवाछुत अन्त्य गर्नका लागि तत्काल प्रभावकारी नीति निर्माण, शिक्षा विस्तार, र चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य छ ।” विश्वकर्माले भने ।
युग संवाददाता । सुर्खेत । ८ पुष २०८१, सोमबार १५:४७