आप्रवास र विकास सम्बन्धी प्राज्ञिक छलफल सम्पन्न भएको छ । मंगलवार कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननीय मन्त्री विनोदकुमार शाहको प्रमुख आतिथ्यता एवं मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमकोअध्यक्षतामा आप्रवास र विकास सम्बन्धी प्राज्ञिक छलफल सम्पन्न भएको हो ।
नेपाल सरकार, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र अन्तर्राष्ट्रिय आप्रवासी संगठन (IOM)को संयुक्त सहकार्यमा आयोजित उक्त छलफल भएको हो । कार्यक्रम सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालयको सेमिनार हलमा आप्रवासनका विभिन्न पक्षमा छलफल गर्न आयोजना भएको थियो ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । त्यसै गरी त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका सह–प्राध्यापक डा. पद्म प्रसाद खतिवडाले कर्णाली प्रदेशमा जनसंख्याको अवस्थिति सम्बन्धमा प्रस्तुति राखे ।
अन्तर्राष्ट्रिय आप्रवासी संगठनका प्रज्वल शर्माले समग्र विश्व परिवेश तथा कर्णाली प्रदेशमा केन्द्रित रहेर आप्रवासन व्यवस्थापन, अवस्था र चुनौतीका सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । त्यस्तै कार्यक्रमको दोस्रो चरणमा विभिन्न क्षेत्रका विज्ञ सम्मिलित प्यानल छलफलको कार्यक्रम रहेको थियो ।
जसमा बसाईसराई तथा आप्रवासन सम्बन्धी चुनौती, अवसर र नीती लगायत कर्णालीको जनजीवनका बारेमा महत्वपूर्ण विचार मन्थन भएको थियो ।
कार्यक्रमको समापनमा प्रमुख अतिथि मन्त्री विनोदकुमार शाह, कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका मन्त्री घनश्याम भण्डारी तथा सुर्खेत जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले मन्तव्य प्रस्तुत गरेका थिए, भने कार्यक्रमका अध्यक्ष एवं उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमले धन्यावाद ज्ञापन सहित आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।
युग संवाददाता । सुर्खेत । ९ पुष २०८१, मंगलवार १८:२२