२०८१ चैत्र २
×

Now Playing

वीरेन्द्रनगरको पुरानो सदरमुकाम गोठीकाँडालाई पर्यटकीय हब बनाउँने तयारी


रमेश रावल
सुर्खेत ।
सुर्खेतको पुरानो जिल्ला सदरमुकाम हो, वीरेन्द्रनगर नगरपालिका–१४ स्थित गोठिकाँडा । वीरेन्द्रनगर बजारमा सुदरमुकाम नसर्नु अघि यहीँबाट सुर्खेतको प्रशानिक काम हेरिन्थ्यो । २०२३ साल अघि सदरमुकाम गोठिकाँडा नै थियो । उतीबेला निकै चहलपहल हुने गोठीकाँडा क्षेत्रमा अहिले मानिसको बसोबास पातलिएको छ । वीरेन्द्रनगरमा औलो उल्मुलन हुनुपूर्व ठुलो बस्ती थियो ।
२०१९ सालमा वीरेन्द्रनगरमा औलो उन्मूलन कार्यालय स्थापना भयो । औलो उन्मूलन कार्यालय स्थापना भएर अभियान चलेपछि विस्तारै गोठीकाँडाको बस्ती उपत्यका झर्न थालेको इतिहाँस छ । वीरेन्द्रनगरमा २०२२ सालमा औलो उन्मूलन घोषणा भएसँगै २०२३ साल मंसिरतिरबाट गोठीकाँडा क्षेत्रका प्रशासनिक कार्यालयहरु उपत्यकामा स्थानान्तरण भएका थिए । त्यसयता सो क्षेत्र ओझेलमा पर्दै आएको छ ।
कुनै बेलाको प्रशासनिक केन्द्र रहेको गोठीकाँडालाई वीरेन्द्रनगर नगरपालिकाले पर्यटकीय क्षेत्र बनाउने योजनामा अगाडी बढाएको छ । गोठीकाँडा क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिएको नगर प्रमुख मोहनमाया ढकालले बताइन् । ‘यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकियो भने आर्थिक विकास हुनसक्छ,’ उनले भने, ‘त्यसैले हामीले गोठीकाँडाको पर्यटकीय गुरुयोजना बनाएर काम गर्ने सोच बनाएका छौं ।’ बयालकाँडा क्षेत्रलाई पर्यटकीय गतव्य बनाउन अहिले प्याराग्लाइडिङ, बटुक भैरबको मन्दिर निर्माण गरिएको छ भने, ऐतिहाँसिक गढीको संरक्षण तथा पुर्ननिर्माणको पहल थालिएको उनले बताइन ।
हिउँदमा पारिलो घाम ताप्न पाइने र गर्मीयाममा चिसो हाबा चल्ने भएका कारणले सो क्षेत्रमा आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ । गोठीकाँडा क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरेर बाह्य पर्यटक ल्याउने लक्ष्य नगरपालिकाको छ ।

गढीको संरक्षण गरिँदै
ऐतिहाँसिक महत्व बोकेको गोठीकाँडा गढीको संरक्षण गर्न पहल थालिएको छ । ऐतिहाँसिक महत्व बोकेको गढीमा नेपाली सेनाले संरक्षण गर्दै आएको छ । पुष्टि हुने आधारहरु नभएपनि नेपाल एकिकरणको समयमा बहादुर शाहको पालामा वि.सं. १८४८ मा गोठीकाँडा गढी निर्माण गरिएको बताइन्छ । पाँच कठ्ठा १३ धुर क्षेत्रफलमा गढी अवस्थित छ । गढी नजिकै बटुक भैरबको मन्दिर निर्माण गरिएको छ ।
संरक्षण र प्रचार प्रसारमा ध्यान नदिँदा ऐतिहाँसिक महत्व बोकेको गोठीकाँडा गढीको स्वरुप मासिँदै गएको छ । गढी क्षेत्रमा पहिले वरिपरि ढुङ्गाको पर्खाल र सेनाले लुकेर गोली हान्ने गराइएका पर्खालमा प्वाल देखिने गरेको भएपनि पछिल्लो समय सबै पुरिँदै गएको वीरेन्द्रनगर नगरपालिका–१४ वडाध्यक्ष देवबहादुर रोकायले बताए । ‘यसको संरक्षण, प्रचार प्रसार, उत्खनन् र पुर्ननिर्माणका लागि यस क्षेत्रका मन्त्री, नेता, राजनीतिक दलका प्रतिनिधि, अन्य सरोकारवालासँग कुरा राखे पनि सोचे अनुसार परिणाम देखिएको छैन्,’ उनले भने, ‘नगरपालिकाबाट हुन सक्ने अवस्था पनि छैन । यो पुरातत्व विभागको काम भएकाले समस्या भएको छ ।’
गढीलाई पुरानै स्वरुपमा फर्काउन नेपाली सेनामार्फत पुरातत्व विभागसँग कुरा भइरहेको वडाध्यक्ष रोकायले जानकारी दिए । ‘गढीको संरक्षणको विषयमा तत्कालिन गढी गाविस हुँदैदेखि छलफल हुँदै आएको छ,’ उनले भने, ‘राज्यले यसको उत्खनन्, पुनर्निर्माण गर्न आवश्यक छ ।’
गढीको विषयमा अध्ययन र अनुसन्धान हुन आवश्यक रहेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् । ‘नेपाल एकीकरणका समयमा दैलेख राज्य जित्ने समयमा यो गढी बनाईएको हुनसक्ने अनुमान गरिएको छ,’ उनले भनिन्, ‘त्यहाँ उत्खनन् गरे केही प्रमाण फेला पर्न सक्ने सम्भावना छ ।’ बयलकाँडा गढीको विषयमा अध्ययन गर्न पुरातत्व विभागबाट इन्जिनियरसहितको टोलीले अध्ययन गरेको वडाध्यक्ष रोकायले बताए ।
‘गत आइतबार यसको विषयमा पुरातत्व विभागबाट टोली आएर अध्ययन गरेर गएको छ,’ उनले भने, ‘त्यस अध्ययनको निष्कर्षको आधारमा काम अघि बढ्छ ।’ पुरातत्व विभागको अनुमति बिना पुनर्निर्माण गर्न सकिने अवस्था नभएका कारण तारबार गरेर संरक्षण मात्रै गरिएको नगर प्रमुख ढकालले बताइन् । उनले गोठीकाँडा क्षेत्रलाई पर्यटकीय गुरुयोजना बनाएर अगाडी बढ्ने लक्ष्य राखिएको बताइन । बयलकाँडा क्षेत्रबाट सुन्दर वीरेन्द्रनगर लगायतका अन्य क्षेत्र सहजै अवलोकन गर्न सकिने हुँदा शनिबार लगायतका बिदाका दिनमा आन्तरिक पर्यटकको घुईचो लाग्ने गरेको स्थानीय रणप्रसाद चालिसेले बताए ।

प्याराग्लाइडिङको हव बन्ने सम्भावना
वीरेन्द्रनगरको माथिल्लो भाग गोठीकाँडाबाट उपत्यकासम्म प्याराग्लाइडिङका लागि उपयुक्त स्थान मानिन्छ । सुर्खेतको वेलकम प्याराग्लाइडिङ प्रालिले जनशक्ति व्यवस्थापनका लागि बाबु एड्भेन्चर प्रालिसँग सहकार्य गरेर अहिले प्याराग्लाइडिङ गरिरहेको छ । प्याराग्लाइडिङका लागि उपयुक्त स्थान रोजेर जनशक्तिको व्यवस्थापनसहित सेवा सुरू गरिए पनि सोचेअनुसार व्यावसायिक बन्न नसकेको वेलकम प्याराग्लाइडिङ प्रालिका सञ्चालक पदमबहादुर शाहीले बताए ।
‘सुर्खेत प्याराग्लाइडिङ हब बन्न सम्भव छ भन्ने सन्देश दिन र विस्तारै यसलाई व्यावसायिक बनाउने योजनासहित हामीले बन्द भएको यो व्यवसाय ६ बर्षपछि फेरि सुरु गरेका थियौं,’ उनले भने, ‘सुरुमा आशलाग्दो गरी आन्तरिक पर्यटक आए, तर पछि सोचेअनुसार सफलता मिलेको छैन ।’
सुर्खेतमा प्याराग्लाइडिङ सम्भावना अझै पनि भएकाले निरन्तर सञ्चालनमा राखिएको उनले बताए । सबै आन्तरिक पर्यटक यस्तो साहसिक पर्यटनमा चासो नदिने र बाह्य पर्यटक आउने क्रम नबढेकाले अपेक्षा अनुसार व्यावसायिक बन्न नसकेको सञ्चालक शाहीले बताए । गोठीकाँडादेखि वीरेन्द्रनगर उपत्यकाको दुरी नजिक भएकाले उडेर सिधै अवतरण गर्ने हो भने ५÷६ मिनेट मात्र समय लाग्ने गरेको प्याराग्लाइडिङ र चारैतिर घुम्दै अवतरण गर्ने हो भने २५ मिनेटसम्म लाग्ने गरेको छ ।

चार बुँदे गढी घोषणापत्र जारी
नेपाल पत्रकार महासंघ शाखा, सुर्खेतले चार बुँदे गढी घोषणापत्र जारी गरेको छ । शाखाको चौथो पूर्ण बैठकले बयलकाँडा गढी घोषणापत्र जारी गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा शाखाले विहिबार वीरेन्द्रनगर–१४, स्थित ऐतिहाँसिक गढी क्षेत्रमा बैठकको आयोजना गरेको थियो ।
पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माका अनुुसार बैठकले आम पत्रकारहरुको साझा हकहित र पेशागत सुरक्षाका नित्ति गोलबद्ध हुने प्रण गर्दै घोषणापत्र जारी गरेको हो । जसमा ऐतिहाँसिक गढी क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गरी पुनर्निर्माण गर्न वीरेन्द्रनगर नगरपालिकालाई ध्यानाकर्षण गराउँने पहिलो बुुदाँमा उल्लेख छ । त्यस्तै गोठीकाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यस क्षेत्रलाई जोड्ने पदमार्ग तथा सडक स्तरोन्तीलाई प्राथमिकता दिन प्रदेश सरकार र नगरपालिकाको ध्यानाकर्षण गराइने बताइएको छ ।
नगरपालिकालाई मिडियामैत्री सञ्चार कानून निर्माण गर्न जोडदार माग गर्ने बैठकले निर्णय गरेको छ । स्थानीय सरकारबाट प्रकाशन÷प्रसारण गरिने विज्ञापनहरू प्रकाशन÷प्रसारण गर्ने पहिलो हक सोही स्थानका सञ्चार माध्यमहरूले पाउनुपर्ने उल्लेख छ । यसको कार्यान्वयनका लागि नगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।
सोही अवसरमा गढीमै नगरपालिकाले पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरेको थियो । कार्यक्रममा सहभागि पत्रकारहरुले नगरपालिकाले आगामी बजेटमा समेट्न पर्ने र यसअघि भए गरेका कामका बिषयमा सकारात्मक आलोचनासहित सुुझाव सल्लाह दिएका थिए ।
अन्तरक्रियामा बोल्दै नगर प्रमुख मोहनमाया ढकालले पत्रकार महासंघ र पत्रकारहरुका माग तथा सल्लाहका आधारमा नगरपालिका अघि बढ्ने आवश्वासन दिइन् । उनले भनिन्, ‘गढी क्षेत्र एक पर्यटकिय स्थल हो । वीरेन्द्रनगर पुुगेपछि जो पनि एक पटक गढी पुुग्नुपर्छ भन्ने ध्ययेका साथ पर्यटकिय क्षेत्रमा विकास निर्माणमा काम अघि बढाइने छ ।’
नगर उपप्रमुख निलकण्ठ खनालले गढी क्षेत्रको पर्यटकिय विकासका लागि सबैभन्दा पहिले पक्की सडक निर्माणको कामलाई जोड दिइएको बताए । सडक विस्तारपछि अन्य संरचनाको काम गरेर गढीलाई सुर्खेतकै उत्कृष्ट पर्यटकिय क्षेत्र बनाइने उनको भनाई छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *