प्रेस स्वतन्त्र नभए लोकतन्त्र मासिन्छ : अध्यक्ष शर्मा
सुर्खेत ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्र हुन नसके लोकतन्त्र मासिने बताएकी छन् । शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा महासंघ कर्णाली प्रदेश समितिले आयोजना गरेको कर्णाली प्रदेशका पत्रकार महिलाका लागि व्यवसायिक पत्रकारितामा लैङ्गिक संवदेनशिला विषयक तालिमको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष शर्माले यस्तो बताएकी हुन् ।
अझै पनि समाचार लेखेकै भरमा पत्रकारहरु असुरक्षित हुने अवस्थाको अन्त्य हुन नसकेको उल्लेख गर्दै अध्यक्ष शर्माले पत्रकारितालाई कमजोर बनाउन लागेको असंगठित समूहप्रति सचेत रहनु पर्ने बताइन । तीन दिनसम्म चल्ने तालिमको प्रशिक्षकसमेत रहेकी अध्यक्ष शर्माले व्यवसायिक पत्रकारिता मजबुद र बलियो भएमात्रै महिलाहरुलाई पत्रकारितामा आकर्षित गराउन सकिने बताइन । महासंघमा सदस्यता शुद्धीकरणमा देखिएको विवाद समाधान गर्न सामाजिक परीक्षण आवश्यक रहेको उनको भनाई थियो । संघ, प्रदेश र स्थानीय सरकारले निर्माण गर्ने हरेक नीतिहरु सञ्चारमैत्री हुनुपर्ने उनको जोड थियो । तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागु गर्न सकेमात्रै महिला पत्रकारहरुको सशक्तिकरण हुने उनको भनाई थियो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लुकाइएका मात्र नभइ तथ्यमा आधारित रहेर लुकेका सामग्री प्रचारप्रसार गरि समाजमा उत्साह छर्नतर्फ पत्रकारहरुले भूमिका खेल्नु पर्ने बताए । प्रदेश सरकारले विकास, निर्माण र सुशासन कायम गर्ने दिशामा चालेको कदमलाई पत्रकारका कलमले चिन्न सके समाजमा रहेको निराशा चिर्न सकिने मुख्यमन्त्री कँडेलले दावी गरे ।