लागुऔषध कारोबारीलाई छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा एक जना पक्राउ
बाँकेमा लागुऔषधका कारोबारीलाई छुटाइदिने आश्वासनमा परिवारसँग रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका–१५ का राजेन्द्रकुमार गुप्तालाई पक्राउ गरेको एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।
उनले लागुऔषधका कारोबारीलाई छुटाइदिने भन्दै परिवारसँग तीन लाख ७० हजार भारतीय रुपैयाँ रकम लिएको खुलेको हो । त्यस रकममध्ये एक लाख ५० हजार भारतीय रुपैयाँ आइतबारमात्रै फिर्ता गरेका थिए ।
गत असार १३ गते नेपालगन्ज–१५ जमुना नाकामा चेकिङ गर्नेक्रममा भे ७ प ६६८९ नम्बरको मोटरसाइकल र भारतीय नम्बर प्लेट यूपी ४० एल १४९९ नम्बरको मोटरसाइकलमा सवार रहेका दुई जनालाई पक्राउ गरेको थियो ।
नेपाली नम्बर प्लेटको मोटरसाइकल चलाक सुर्खेतको गुर्भाकोट नगरपालिका–६ का २९ वर्षीय प्रकाश केसी पक्राउ परेका थिए । उनले आफ्नो मलद्वारमा लागुऔषध ८ ग्राम ५०० मिलीग्राम ब्राउनसुगर लुकाएर ल्याएका थिए ।
घटनास्थलबाट भागेका भारतीय नम्बर प्लेटका चालक दीपक श्रीवास्तवलाई पछि नेपालगञ्ज–१० गणेशमान चोकबाट पक्राउ गरेको थियो । प्रहरीले दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ ।
त्यसैबीच गुप्ताले भारतीय नागरिक समेत रहेका दीपक श्रीवास्तवलाई छुटाइदिने भन्दै रकम असुली गरेको खुलेको हो ।